आर्थिक

आर्थिक संकटको असर अब न्युरोडका ब्यापारीलाई पनि

झरना कंडेल / कुनै समय खचाखच ग्राहक देखिने, काठमाडौंका व्यापारिक केन्द्रहरु अहिले सुनसान देखिन थालेका छन् । पहिले ग्राहक र सामान भेटिने कैयौं सटरहरु बन्द छन् र लेखिएका छन् ‘टु लेट त कतै सटर भाडामा छ।’


करिब ९ बर्षदेखी कपडा पसल थालेका रामेछापका केदार चौलागाइ पसलमा एक्लै भेटिए, न्युरोड गेटको छेवैमा बाहिर बाटोमा हेर्दा सबै तछाड–मछाड गरेर हिडिँरहेका थिए, खुट्टा भुइमा राख्दा पनि कसैको खुट्टा कुल्चिने पो होकि झैं लाग्थ्यो । चारपाग्रें गाडि होस या मोटरसाइकल, पैदल यात्री होस् या साइकल यात्री, सबै आ–आफ्नो बाटो काट्नमै निकै व्यस्त देखिन्थे, जस्तो की सबैलाई हतार भैरहेको छ, तर पसलहरु सुनसान । यत्तीकैमा उताबाट आवाज आइरहेको थियो, ‘तिन सय पचास, सामान झकास,’ ‘पाँच सयको दुइवटा आउनुस न दिदी, दाई सबै सामान सेलमा’।..


केदारले काठमाडौंमा फेन्सी व्यावसाय सुरु गरेदेखि यति कम ब्यापार भएको कहिल्यै थाहा पाएनन् । कुनै समय ग्राहकले खचाखच भरिने उनको पसल अहिले भने सुनसान जस्तै भएको छ । पहिलेभन्दा अहिले ब्यापार धेरै घटेको छ, उनले भने, ‘पहिले १ लाख कमाउने ठाउँमा अहिले ६० हजार जस्तो ब्यापार हुन्छ । पहिलेजस्तो मानिसहरु आउनै छाडे, आर्थिक मन्दी छायो, धेरै मान्छे बिदेशिय, सरकारले पनि यसमा ध्यान दिएन ।’ दशै तिहारको सिजनमा व्यापार होला की भन्ने आशमा रहेको उनको भनाई छ ।

केदार त फुटकर बिक्रेता भए ल आउनुहोस अब होलसेल पसलतिर लागौँ। करिब २६ बर्ष अघिदेखि कपडा पसल गरेका बद्री कुमार श्रेष्ठको त आफ्ना रेगुलर ग्राहकहरुमध्ये ९० प्रतिशत त आउनै छाडे, नयाँ ग्राहकको त कुरै छाडौँ । उनको पसल काठमाडौंको निकै ब्यस्त व्यापारिक केन्द्र न्युरोडमा अवस्थित रञ्जना ट्रेडर्समा छ । पहिले काठमाडौं भ्याली बाहिरबाट धेरैको संख्यामा उनको पसलमा सामान किन्न आउथे, तर अहिले उनी दिनभर ग्राहक पर्खेर मात्रै बस्छन्, गएको पौस महिनादेखी उनको पसलमा आउने ग्राहकको प्रतिशत ९० ले घटेको उनको भनाई छ । आर्थिक मन्दीका कारण आफ्नो लगायत धेरैको व्यापार चौपट भएको उनको भनाई छ ।


न्युरोडको होलसेल मार्केटमा जुत्ता चप्पल व्यावसाय गरेका चितवनका चुरामणि पौडेलको पीँडापनि लगभग उस्तै छ । पहिलेको तुलनामा अहिले सामानको मुल्य बढेकाले सामान बेच्नै धौ–धौ भएको बताउछन् । ‘कोरोनाको बेला नछाएको मन्दी अहिले छायो’, उनले भने ‘कोरोना पछि बरु राम्रै ब्यापार थियो अहिले ग्राहक नै आउन छाडे, यसमा सहकारीको पनि गल्ती देखिन्छ, सहकारीले साना ब्यापारीहरुलाई ऋिण दिन्थे र सहज हुन्थ्यो, किनभने ब्यापारीले २÷४ लाख लिएर सामान किन्थे त्यही सामान बेचेर आएको फाइदाले किस्ता तिर्थे, बचत गर्थे तर अहिले धेरैजसो सहकारीहरु रकम हिनामिना गरेर फरार हुदाँ पनि समस्या भएको छ ।’राज्यले यसतर्फ ध्यान दिनुपर्ने भन्दै अव तिज दशैं र तिहारमा पनि राम्रो ब्यापार भएन भने धेरै ब्यापारीहरु डुब्ने र सटर नै बन्द गर्नुपर्ने अवस्थामा आउने उनको भनाई छ । पहिलेको तुलनामा अहिले १० प्रतिशत पनि बिक्री नभएको उनको भनाई छ ।
पुख्र्यौली घर लमजुङ भएका दुर्गाराज गुरुङ पनि पसलमा एक्लै भेटिए, २५ बर्ष देखि गुच्चाटोलमा होलसेल पसल गर्दै आएका उनी निकै चिन्तित मुद्रामा भेटिए । उनको समस्या भने अलिक फरक रहेछ, ग्राहक आएभने सस्तो पैसामा मिलाएर सामान दिन्छु भन्नका लागि पनि ग्राहक नै नभएपछि चिन्ता बढेको उनको भनाई छ । कोरोनाका कारण भएको लकडाउन अगाडी सम्म राम्रो चलेको पसल अहिले एकाएक सुनसान बन्दा उनको ब्यापार नै चौपट बनेको उनी बताउछन् । ‘लकडाउन खुलेपछि पनि केही समय राम्रै चल्यो तर, लकडाउनको बेलामा धेरैको रोजगारी गुम्यो धेरैको पसल नै बन्द भए त्यसैले होला त्यो बेलाको मार अहिले पर्यो र पुरै मार्केट डाउन छ, मान्छेहरु सबै आत्तीरहेका छन् पैसा नभएर त होला नी।’ पहिले हप्तामा, महिनामा एकपटक सामान किन्न आउने ग्राहक अहिले बर्षदिन बित्दा पनि नआएको बताउँदै यस्तै चले सबै र सटर बन्द हुनसक्ने उनको भनाई छ । धेरै ठाउँमा उधारो सामान दिएका कारण बाध्यताले पसल कुरिरहनुपर्ने अवस्था आएको उनी बताउछन् ।

त्यही भिडमा लेडिज ब्याग पसल गरिरहेकी समता मिश्रको पनि व्यापारमा पनि निकै ह्रास आएको रहेछ। पूर्वदेखि पश्चिमसम्मका मानिस आउने उनको होलसेल ब्याग पसलमा हिजोआज उपत्यकाबाहिरका खासै आउँदैनन् भने उपत्यका भित्रका पनि फाट्ट फाट्ट फुट्ट मात्रै आउने गरेको उनको भनाई छ । लकडाउनपछि बजार बिग्रिएको उनले बताइन् । ‘बैंकले कर्जा दिन छाडेपछि समस्या भएको हो,’ उनले भनिन्, ‘लकडाउनका बेला जति पनि पैसा दिए बैंकले, सामान पनि बिक्यो, अहिले पैसा पनि बन्द छ, सामान किन्न आउने पनि निकै कम छन्, सबैतिर आर्थिक मन्दी छायो । अव यहि गतिमा चले एकदिन पसल बन्द गर्ने दिन आउने उनको चिन्ता छ ।
यी मात्रै होइन त्यहाँका हरेकजसो पसलमा ब्यापारीहरु ग्राहकको पर्खाईमा देखिन्छन् ।

कोभिड अगाडी र अहिलेको व्यापारमा आकास पातालले फरक भएको रञ्जना ब्यापार संघका अध्यक्ष बिना श्रेष्ठले बताइन् । कोभिड अगाडी जुन गतिमा ब्यापार चलेको थियो, त्यो अहिले छैन् उनले भनिन्, ‘तुलनात्मक रुपमा हेर्ने हो भने ३० प्रतिशतले ब्यापार घटेको छ ।, खुद्रा सामान बेच्नेहरुले पसल छोडे, आर्थिक मन्दी लाग्यो, धमाधम सटर बन्द हुन थाले, रिटेलरहरु नआए होलसेल पसल कसरी चल्ने?’ बैंकहरुले राम्ररी ऋण प्रवाह गर्न नसक्नु र केही सहकारीहरु डुब्नु पनि प्रमुख समस्या भएको उनको बुझाई छ । बैंकले एक करोड ऋण दिनका लागि सेवाग्राहीले पाँच करोडको कारोबार देखाउनुपर्ने समस्या समेत रहेकाले पनि ब्यापारमा ह्रास आएको उनले बताईन् ।