साहित्य

‘बा’ भएर हेर्दा …

-प्रदीप ढकाल -कविता

एकपटक बा भएर हेर त –

किन मौन छन् उनी ?

समाजले दिएका चोटहरु

कहन सक्दैनन्

आफ्नाले दिएका अपमान

ओकल्न सक्दैनन् उनी ….

कहिलेकाही निर्दयी बनिदिन्छन्

ताकि आफ्नो सन्तान मजबूत बनोस्

तर सिरानीलाई मात्रै

सुनाउँछन् आफ्ना वेदना

सिरानी आफै सुक्दछ

देख्दैन दुनिया सिरानी भिजेको

तर उही बाले नै गुथ्नुपर्दछ

निर्दयीको पगरी पनि ….

बा भएर हेर त

दुनिया कस्तो रैछ ?

कहिलेकाहीं बा

किन मात्तिन्छन् भनेको त

अपमानका विष पचाउन नसकेर पो रैछ

कहिलेकाहीं बा नशाको सुरमा

बोली लरबराउँदै, ढलपल ढलपल गर्दै

चर्को स्वरले चिच्याउँदै

सडकमा किनारामा किन ढल्दछन् ?

घरका भित्तामा किन ठोक्किन्छन् ?

भनेको त

दुनियाले त अडिनै नदिने भएर पो रैछ

कहिलेकाहीँ उत्सव र पर्वमा

किन जोडजोडले

कम्मर मर्काएर नाच्दछन् भनेको त

साहुको ऋणको बोझले दिएको पीडा भुल्न पो रैछ …

जिन्दगी जिउँदै गर्दा –

बाको हृदयले मौन कविता गायो

उनको तनले कथा भोग्यो

उनकै मनले उपन्यास बाँच्यो

मनका व्यथाहरुले गह पाए

ढुंगालाई काखी च्यापेर

निद्राहरु मस्त सुते

तर बा सुतेनन्

ताकि सन्तानहरु

न्यानो ओछ्यानमा सुत्न सकून् …

बोल्न त दिँदैन दुनिया

भीर पहरामा गएर एक्लै चिच्याउँछन् बा

नदी किनारामा एक्लै बरालिन्छन् बा

खेतबारीका आलीमा सुस्ताउँछन् बा

बा त बलवान हुनैपर्दछ

बा त मजबूत हुनैपर्दछ

बा लाई थाक्ने अधिकारै छैन

बा लाई ऐया भन्दै चोट सुम्सुमाउने हकै छैन

थाकेँ भनेर सुस्केरा हाल्ने

समय नै छैन बा लाई ….

बा त बा हो –

बा को सुस्केरा

जंगलका रुखहरुले सोस्नुपर्दछ

बा का आँशुहरु

नदीको भेलले बगाउनुपर्दछ

तर बा ले जंगलबाट

फल र दाउरा लिएर आउनुपर्दछ

नदीबाट मोती निकालेर ल्याउनुपर्दछ

खडेरी परे पनि अनाज लिएर घर फर्किनुपर्दछ …

बा को शरीरले कथा बाँचेको छ

बा को शरीरले व्यथा साँचेको छ …

बरु गुरु बनेर ज्ञान बाँड्न सजिलो छ

आमा भएर ममता बर्साउन सरल छ

तर बा भएर सपना सजाउन कठिन छ …

सन्तानका सपना सजाउँदा सजाउँदै

आफ्ना सपना मसानघाटमा सेलाउन

थाती राखिदिँदा रैछन् बा ले …

निधारका चाउरीले बर्ष होइन

सन्तानको कर्तव्य बोकेका हुन्छन्

उनका सुस्केराले श्वास होइन

साहुको बचन बोकेका हुन्छन्

जुन जिन्दगी गुजार्नै सकिँदैन

त्यो जिन्दगी जिएका हुन्छन् बा ले …

ए दुनिया,

एकपटक बा भएर हेर त

अनि थाहा पाउँछौ –

किन मौन छन् बा भनेर ….