समाचार

कालीगण्डकी करिडोरः बेगखोलाको पुल लक्ष्यअघि नै निर्माण

१७ चैत, म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा लक्ष्यअघि नै मोटर चल्ने पक्की पुल निर्माण भएको छ ।

ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र र अधुरा बनिरहेका अवस्थामा सडक विभागको पुल महाशाखामार्फत सञ्चालित बेगखोला मोटर गुड्ने पुल लक्ष्यअघि नै सम्पन्न भएको हो । सत्तरी मिटर लामो पुल निर्माणका लागि २०७८ असार २९ गते बिओकेआइ÷हिमालयन जेभी र सडक विभागको पुल महाशाखाको पश्चिम सेक्टर कार्यालयबीच रु आठ करोड ३० लाख ६८ लाखमा ठेक्का सम्झौता भएको थियो ।

हिमालयन इञ्जिनियरिङका इञ्जिनियर आभास सापकोटाले २०८१ असार मसान्तसम्मको ठेक्काको म्याद भए पनि हस्तान्तरण गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । गत असोजदेखि नै उक्त पुलमा सवारीसाधन वारपार गर्न थालेका भन्दै उहाँले तीन सय ५० मिटर लामो पहुँचमार्ग निर्माण सकिएको बताए । कालोपत्र गरेर आगामी वैशाख १५ गतेभित्र हस्तान्तरण गर्ने तयारीमा रहेको इञ्जिनियर सापकोटाले बताए ।

पुल महाशाखाको पश्चिम सेक्टरका इञ्जिनियर आशिक रिजालका अनुसार ११ मिटर चौडाइ भएको उक्त पुल डिजाइन एण्ड विल्ड (निर्माण व्यवसायीले आफैँ डिजाइन र निर्माण गर्ने) मोडलमा ठेक्का सम्झौता भएको थियो । डिजाइन तयार पार्न एक वर्ष लागे पनि आर्थिकरुपमा असहज अवस्थाका बाबजुद पर्याप्त निर्माण सामग्री व्यवस्थापन, मजदुर र उपकरण परिचालन गरेर लक्ष्यअघि नै पुल निर्माण गर्न सफल भएको इञ्जिनियर सापकोटाले बताए ।

विसं २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा एक जनाको ज्यान जानुका साथै ११ घर, बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि बर्खायाममा बाढी आउँदा यातायात आवतजावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । रघुगङ्गा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनले पुल बनेसँगै बेगखोलामा बाढी आएको अवस्थामा यातायात आवतजावत बन्द हुने र जोखिम मोलेर वारपार गर्नुपर्ने समस्या हटेको बताए ।

पुल महाशाखाले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत महभिर र पोखरबगरस्थित कालीगण्डकीमा यसअघि दुई मोटर गुड्ने पुल निर्माण गरेको छ । १९ करोडको लागतमा महभिरमा ८० मिटर र पोखरेबगरमा ७० मिटर लामो पुल निर्माण गरिएका हुन् । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा १३ पक्की पुल र तीन बेलीब्रिज निर्माण गरिएका छन् । ६ ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन् ।

दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत सेतोखोलामा थप एक मोटर गुड्ने पुल निर्माण सुरु भएको आयोजना प्रमुख धु्रव झाले बताए । यो सडकले गण्डकी प्रदेशको पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।