प्रदेश 1

धनकुटामा औद्योगिकग्राम सञ्चालनमा

१३ भाद्र, धनकुटा । सेनिटरी प्याडको परीक्षण उत्पादन गर्दै धनकुटामा औद्योगिकग्राम सञ्चालनमा आएको छ । सरकारले २०७५ सालमा औद्योगिकग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि ल्याएपछि पहिलो चरणमा सुर्खेत र धनकुटामा औद्योगिकग्राम स्थापना भएको थियो ।

कूल रु १५ करोड खर्चेर २०७७ सालमा धनकुटा नगरपालिका–६ को अमलेटारमा ५२ मध्ये २७ वटा ब्लक भवन निर्माण गरेपछि उद्योग सञ्चालनका लागि आवेदन खुल्ला गरिएको थियो । आवेदन परेको एक वर्षपछि ब्युटी सेनिटरी प्याड एण्ड मास्क उद्योगले रु १५ लाखको लागतमा आफ्नो परीक्षण उत्पादन शुरु गरेको छ । आगामी भदौदेखि दैनिक दुई हजार देखि दुई हजार पाँच सय सेनिटरी प्याड उत्पादन गरेर जिल्लामा आपूर्ति गर्ने उद्योगका प्रबन्ध निर्देशक राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए ।

गत वर्ष २७ उद्योगका लागि गरिएको आवेदनमा १३ उद्योगले निवेदन दिएका थिए । तीमध्ये अहिले एक खाद्यान्न उद्योग र सेनिटरी प्याड उद्योगले मात्र आफ्नो उद्योग सञ्चालनका लागि सम्झौता गरेका छन् । निवेदन दिने बाँकी उद्योगीलाई पनि उद्योग सञ्चालन गर्न परिपत्र भइरहेको घरेलु तथा साना उद्योग विकास समिति धनकुटाका प्रमुख ईश्वर थापाले जानकारी दिए । “कोरोनाले उद्योग सञ्चालनमा ढिलाइ भयो”, थापाले भने, “अब चाँडै समितिको बैठक बसेर सबैलाई सञ्चालन गर्न पहल गर्छौं ।”

बाँकी आवेदक सबै उद्योगहरुलाई अन्तिम परिपत्र गर्ने तयारी भइरहेको औद्योगिक सञ्चालन समितिका संयोजक घनेन्द्र न्यौपानेले जानकारी दिए । “पत्रचार गर्दा पनि उद्योग सञ्चालन गरेनन् भने अब नयाँ आवेदन खुलाउने तयारीमा छौँ”, न्यौपानेले भने । जिल्ला उद्योग प्रवद्र्धन समन्वय समितिका संयोजक निरन तामाङले नयाँ स्थानमा उद्योग सञ्चालनका लागि हिचकिचाहट भएकाले उनीहरुलाई अभिमुखीकरण गर्ने तयारी भइरहेको जानकारी दिए ।

औद्योगिक क्षेत्र स्थापनाका लागि २०३९ सालमा औद्योगिक व्यवस्थापन लिमिटेडको स्वामित्वमा ५८ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पछिल्लो समयमा उक्त जमिन औद्योगिकग्रामको नाममा ल्याएर स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धन गर्न ग्रामको स्थापना गरिएको थियो ।