समाचार

माओवादीका दुई मन्त्रीले लिए शपथ

२४ माघ, काठमाडौं । मधेस प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

माओवादी केन्द्रबाट उद्योग, पर्यटन तथा वन मन्त्रीका रूपमा सुनिता यादव र उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा रहबर अन्सारीले शपथ लिएका हुन् । उद्योगमन्त्री यादवलाई मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ खुवाएका हुन् ।

उद्योगमन्त्री यादव धनुषाबाट निर्वाचित समानुपातिक सांसद हुन् भने अन्सारी पर्सा-१ (१) बाट निर्वाचित सांसद हुन् ।

प्रदेशमा असन्तुष्ट बनेका माओवादी केन्द्रका यी दुईजना सरकारमा सहभागी भएसँगै मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मधेस प्रदेश सरकार १५ सदस्यीय रहेको छ ।

मुख्यमन्त्रीलाई समर्थन दिएका चार दल सरकारमा सहभागी भए पनि माओवादी केन्द्र सहभागी नभएपछि प्रदेश सरकारले पूर्णता पाएको थिएन । मन्त्री यादवले मैथिली र राज्यमन्त्री अन्सारीले भोजपुरी भाषामा शपथ लिएका छन् ।

उनीहरूले प्रदेशमा मन्त्रीमण्डल बाँडफाँडको विषयमा असन्तुष्ट भए पनि पुरानै मन्त्रालयको मन्त्रीको रूपमा शपथ लिएका हुन् ।