समाचार

बाबुराम आचार्यको १३६ औं जन्मजयन्तीमा बिज्ञहरुले भनेः नयाँ पीढीलाई इतिहाससँग जोड्नुपर्छ

२९ फागुन, काठमाडौं । ‘बाबुराम आचार्य र नेपालको इतिहास विषयक प्रवचन’ कार्यक्रम सम्पन्न भएको छ । इतिहासशिरोमणि बाबुराम आचार्यको १३६ औं जन्मजयन्तीका उपलक्ष्यमा इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको आयोजना र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

आचार्यको जन्मजयन्तीमा आयोजीत प्रवचन कार्यक्रमलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. जगमान गुरुङले पानसमा दीप बालेर समुद्घाटन गरे ।

कार्यक्रमको सभाध्यक्ष सामाजिक शास्त्र विभाग प्रमुख डा कौशिला रिसालले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राई रहेका थिए । अतिथिहरुमा उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा), पूर्वउपकुलपति डा. जगमान गुरुङ, पूर्वप्राज्ञपरिषद् सदस्य प्रा दिनेशराज पन्त, प्रवचनकर्ताहरु प्राडा त्रिरत्न मानन्धर, नेपालका लागि चीनका पूर्वराजदूत एबम् इतिहाशसिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका उपाध्यक्ष राजेश्वर आचार्य र प्रा.डा. सुरेन्द्र केसी थिए ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदी, प्राज्ञ परिषद् सदस्यहरु डा. मधुसुदन गिरी, डा कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपालीको आतिथ्यता रहेको थियो ।

यसैगरी प्राडा निरन्जन बस्नेत, इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्य, कोषाध्यक्ष कञ्चन शर्मा आचार्य, संबिधानबिद डा भीमार्जुन आचार्य, उद्योगपति एबम् पूर्व साँसद कृष्ण प्रसाद आचार्य, डा भागवत आचार्य प्रतिवेदक डिल्ली रमण सुवेदी र प्रतिष्ठानका मानार्थ प्राज्ञ सदस्यहरु, आजीवन सदस्यहरु, प्राज्ञ सभाका सदस्यहरु, प्राज्ञ परिषद्का पूर्व पदाकिारीहरु, स्मृति प्रतिष्ठानका पदाधिकारीहरु, पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका अतिथिहरुलाई डा। धनप्रसाद सुवेदी स्वागत गरेका थिए । प्रतिष्ठानसँग सहकार्य गरेर इतिहासशिरोमणि बाबुराम आचार्यको जन्मजयन्ती मनाउन पाएकोमा उनले आभार व्यक्त गरे ।

नेपाली साहित्य र समालोचनाको क्षेत्रमा पनि आचार्यको ठूलो योगदान रहेको उनले उल्लेख गरे । १९४८ बाट मोतिराम भट्टले सुरु गरेको समालोचनाको परम्परामा आचार्यको पनि योगदान रहेको उनले बताए । भानुभक्त अघि नै कविहरु थिए भन्ने भनिए पनि कोको थिए स्पष्ट पार्ने काम मोतिरामले गरेको उनले उल्लेख गरे । नेपाली साहित्यको इतिहास र समालोचना र यसका प्रवृत्तिहरुको उजागर गर्ने काम बाबुराम आचार्यले गर्नुभएको उनले बताए । आचार्यको योगदानको स्मरण गर्दै यसरी अन्तरक्रिया गर्नु आफैंमा महत्त्वपूर्ण रहेको उनले बताए।

बाबुराम आचार्य २०२० सालमा प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्य बनेका थिए ।

कार्यक्रममा बोल्दै डा. जगमान गुरुङले नेपाल राष्ट्र र राष्ट्रियताका लागि धेरै लेख्नु वा बोल्नु नपर्ने बताए । एक आदर्श वाक्यले पनि मान्छेलाई महान बनाई दिन्छ । माधवप्रसाद घिमिरेले नेपाली हामी रहुँला कहाँ नेपालै नरहे जस्ता वाक्य लेखेरै महान भए । सत्यमोहन जोशीले राष्ट्रिय फूल गुराँस र इरानको राष्ट्रिय फुल गुलाबलाई जोडेर लेखेकैले सत्यमोहन हुनुभएको हो उनले भने ।

बाबुराम आचार्यले झ्यामोलुङ्मालाई सगरमाथा नामाकरण गरेकोले नै उहाँ महान हुनुभएको उनले उल्लेख गरे । लामाहरुले झ्यामोलुङ्मालाई बसिरहेकी चरी, लिम्बुले चोमो लुङ्मा चोमो अग्लो, लुङ ढुङ्गा अग्लो ढुङ्गा नाम रहेको उल्लेख गरे । संस्कृत र नेपालीमा त्यसको नाम नभएकोले बाबुरामले सगरमाथा वा झ्यामोलुङ्मा लेख लेखेर राष्ट्रको आवश्यकताको परिपूर्ति गरे । त्यसैले उहाँलाई इतिहासशिरोमणि उपाधि दिइएको उनको भनाई थियो ।

बाबुरामले पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी लेखेको र संशोधन मण्डलले पृथ्वीनारायण शाहका उपदेश पुस्तक प्रकाशित छ ।

तिब्बत नेपालको आर्थिक उपनिवेश भएको उनले बताए । ‘त्यहाँ कान्तिपुर, पाटन र भक्तपुरका सिक्काहरु चल्थे । कान्तिपुरको खड्ग भएको, पाटनको स्वस्तिक चिह्न भएको र भक्तपुरको शंख चिह्न भएको सिक्का त्यहाँ टक काटेर पठाउने चलन थियो’ उनले बताए ।
इतिहासको ऐतिहासिक विश्लेषण हुनुपर्ने अनि मात्रै इतिहास अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढ्ने उनले बताए । पोखराको राजाको चौतारोको उदाहरण दिँदै इतिहास र संस्कृति मेट्दै गएपछि यो अवस्था आएको उनले बताए ।

यो देश दैवीशक्तिमा बाँचेकोले इतिहास संशोधन र व्याख्या गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रमका प्रवचनकर्ता प्राडा त्रिरत्न मानन्धरले बाबुराम आचार्यले नेपालको लागि जुन योगदान दिए, त्यो अतुलनीय रहेको बताए । एसियाली अनुसन्धान केन्द्रबाट प्रकाशित बाबुराम आचार्य र उनका कृति पुस्तकमा केही पत्रहरु प्रकाशित भएकोले त्यसबाट पनि उहाँका कति कृति प्रकाशन गर्न बाँकी रहेको थाहा हुने उनले बताए । ‘कतिपय कृतिहरु बाबुरामका छोरा श्रीकृष्ण आचार्यले पनि सम्पादन गरेर प्रकाशित गरिएको छ । तर ती कृतिमा आचार्यले लेखेका तथ्यहरुलाई नै तोडमोड गरेर प्रकाशित गरिएको छ’ उनले बताए । पुस्तकको अन्त्यमा वा अन्य पुस्तिकामा टिप्पणी गर्न सकिने तर त्यसरी तथ्य तोडमोड गर्न नहुने उनको भनाई थियो ।

बाबुराम आचार्यको आलोचना पनि धेरै भएको उनले उल्लेख गरे । फुटनोट र साइटेसन नगरेको पुस्तकलाई कसरी हामीले आधार मान्ने भन्ने भनाई आउने गरेको उनले बताए । ‘पृथ्वीनारायण शाहको जीवनी पुस्तकमा भने पादटिप्पणी विस्तृत रुपमा राख्नु भएको छ’ उनले भने । उनका ‘राणा शाही र षड्यन्त्र’ र ‘जसको तरबार उसको दरबार’ लेख प्रकाशित थिए । परराष्ट्र मन्त्रालयमा भएका डकुमेन्टले पुष्टि गरेकोले उहाँले जे कुरा लेख्नुहुन्छ त्यो प्रमाण भएकै आधारले मात्रै लेख्नु हुन्छ भन्ने आधार रहेको उनले बताए । पादटिप्पणी दिएको छैन भन्दैमा आलोचना गर्नु आवश्यक नरहेको उनले बताए । ‘अर्को आरोप भनेको विक्रम संवत प्रयोग नगरी ईश्वी संवतको प्रयोग गर्नुभयो भन्ने छ ।

पृथ्वीनारायण शाहको जीवनी पुस्तकमा विक्रमसम्वत्ले स्पष्ट मिति दिन नसकेकोले ईश्वीसम्वत प्रयोग गरेको स्पष्ट पार्नु भएको छ’ उनले बताए ।
अर्को आलोचना भनेको बाबुराम आचार्य बायस हुनु भयो भन्ने हो । भीमसेन थापा र अमरसिंह थापाको बारेमा उहाँले आलोचना वा टिप्पणी गर्नुभएको थियो । तर त्यो प्रमाणविना आलोचना भएको थिएन उनले भने ।

जुनकुरा लेख्नु भयो त्यो गल्ती भयो भन्ने तत्कालै सुधार गर्ने र क्षमायाचना गर्ने बानी उहाँको रहेको प्रा डा मानन्धरले उल्लेख गरे । जुन अरुमा र अहिलेको पुस्तामा छैन । कीर्तिपुरलाई कान्तिपुर भनेर प्रकाशन गरेको विषयमा जीवनीको चौथो भागमा सुधार गर्दै क्षमायाचना गर्नुभएकोले पुष्टि हुने उनले बताए । बाबुराममा सत्य कुरालाई नलुकाउने गुण पनि रहेको उनले उल्लेख गरे । पुराना कवि र कविता भन्ने साहित्यको पुस्तक इतिहासको पुस्तकभन्दा कम नभएको उनले बताए । ‘बाबुराम आचार्यले लेखेका अप्रकाशित सामग्रीहरु धेरै छन् । त्यो सिनासमा उल्लेख रहेकोले ती लेखहरुलाई संकलन गरी प्रकाशन गर्ने जिम्मेवारी प्रज्ञा–प्रतिष्ठानले लिनुपर्ने उनको सुझाव थियो । बाबुराम आचार्यको बारेमा प्रतिष्ठानमा दुईवटा पुस्तक प्रकाशन भइसके पनि अब थप अध्ययन, अनुसन्धान गरेर पुस्तक प्रकाशन गर्न उनले आग्रह गरे ।

अर्का प्रवचनकर्ता पूर्वराजदूत राजेश्वर आचार्यले इतिहासको ज्ञान खाली इतिहासको विषय पढ्नेसँग मात्रै सम्बन्ध नरहेको उल्लेख गरे। मान्छेलाई इतिहास, भूगोल, धर्म, संस्कृतिको ज्ञान चाहिने रहेछ । ‘बाबुरामले सगरमाथाको नामाकरण नगर्नुभएको भए विदेशमा गएर नेपाली नाम बताउनै नसक्ने अवस्था थियो’ उनले भने ।’ विदेशमा रहँदा विदेशीले चिन्ने सगरमाथा, बुद्ध, गोर्खा र शेर्पा भएकोले त्यसको प्रचार पनि गर्नु पर्ने उहाँको भनाई थियो । नेपाल र नेपालीको इतिहास स्पष्ट नहुँदा र त्यसको व्याख्या र प्रचार गर्न नसक्दा विश्वमा भ्रम फैलिरहेको उनले बताए । राजदूतहरुलाई जिम्मेवारी बहन गर्न विदेश जाँदा देशको इतिहासको बारेमा न्यूनतम् जानकारी गराउनु पर्ने उनले बताए ।

कार्यक्रमका प्रवचनकर्ता प्राडा सुरेन्द्र केसीले पञ्चायती कालमा लेख्न नपाईने अवस्थामा पनि बाबुराम आचार्यले इतिहास लेखन र संशोधन गर्ने काम गरेको उल्लेख गरे । ‘त्यो समयमा पनि प्रसस्त लेखहरु, ग्रन्थहरु लेख्नु भएको छ’ उनले भने, ‘दरबारले पनि सहयोग गरेकोले उहाँको लेखन अघि बढेको हो ।’ उहाँका राष्ट्रियता, पृथ्वीनारायण शाहको एकीकरण, सगरमाथा जस्ता सामग्रीहरु प्रकाशित भएका छन् । उहाँले युगान्तकारी रचनाहरु छोडेर जानुभएको डा केसीले बताए । आचार्यको विलक्षण प्रतिभा रहेको उल्लेख गर्दै दृष्टि गुमाईसकेपछि पनि उहाँले दिने तथ्य र तथ्याङ्क अमूल्य रहेको उनले बताए । डा केसीले भने, ‘उहाँले इतिहास लेखनको राजमार्ग बनाएर हस्तान्तरण गर्नुभएको छ ।’

इतिहासको अध्ययन, अनुसन्धान र पूर्वजहरुले छोडेर गएको ज्ञानलाई संरक्षण गर्दै भोलिको पिँढीसम्म हस्तान्तरण गर्न आवश्यक रहेको उनले बताए । उनले भने, ‘इतिहासको विरासतलाई भोलिको पिँढीसम्म हस्तान्तरण गर्ने कार्यभार पुरा गर्न सकिन्छ कि सक्दैन त्यो महत्वपूर्ण कुरा हो ।’ पूर्वजहरुको त्याग, योगदान र बलिदानको संरक्षण गर्नुपर्ने उनको भनाई थियो । इतिहासको जग हाल्ने काम बाबुराम आचार्यले गरेकोले उहाँको नामलाई आजको पिँढीसम्म जोड्नु पर्ने उनले बताए। छुटेका कुराहरुको पूर्णता दिने, भवन निर्माण गर्ने, पुरस्कार राख्ने र अहिलेको पुस्ताहरुलाई बाबुरामको बारेमा जानकारी दिनुपर्ने उनले बताए ।

अर्का वक्ता प्रा दिनेशराज पन्तले बाबुरामलाई राजा त्रिभुवनले नै इतिहासशिरोमणि उपाधि दिनुभएको उनले बताए । ‘संशोधन मण्डलले भने उहाँलाई ऐतिहासशिरोमणी भन्ने गरेका छौँ’ उनले भने । फागुन २९ गते स्मृति प्रतिष्ठानले बाबुराम आचार्यको स्मति दिवस मनाउन थालेको उल्लेख गरे । यो कार्यमा प्रतिष्ठानले पनि सहयोग गर्दै आएको उनले उल्लेख गरे ।

बाबुराम आचार्य जुन युगमा जन्मिए त्यो राणा शासन युग थियो । चन्द्र शम्शेरको पालामा खरदार बन्नुभएका बाबुराम आचार्य जुद्धशम्शेरको पालामा आँखा बन्द हुँदासम्म खरदारमै रहनु भयो । राणा शासकहरुको चाकडी गर्ने चलन लेखनाथ, लक्ष्मीप्रसाद देवकोटाले पनि गरेका थिए तर बाबुरामले त्यो काम गरेनन् । २०१३ साल पुस २७ गते नयनराज पन्त र बाबुराम आचार्यबीच संवाद भएको कुरा उल्लेख गरे । उनले यसमा विभिन्न प्रशङ्गहरुको उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले यो कार्यक्रमबाट बाबुराम आचार्यको बारेमा विस्तृत र विहङ्गम छलफल भएको उनले बताए । आचार्यको योगदानको विषयमा विद्वानहरुको सहभागितामा कार्यक्रम सफल भएकोमा गर्व लागेको बताए । विषय विज्ञहरुको सहभागितामा यो कार्यक्रम गर्न पाउँदा खुसी लागेको उनले बताए ।

‘देशलाई चिनाउने नेपाल नामको बारेमा बाबुरामले स्पष्ट रुपमा हाम्रो संस्कृति भन्ने पुस्तकमा लेख्नु भएको छ । कौटिल्यको अर्थशास्त्रमा नेपार भन्ने शब्द भेटिन्छ । नेपार भन्ने किराती जाति काठमाडौँ खाल्डोमा रहेको र त्यसबाटै अहिलेका नेवार जाति भएको प्रमाण भेटिन्छ । नेपाल भन्ने यताको जातिलाई उता ल स्वर नभएर र उच्चारण भएको तथ्य छ । यो कुरा बाबुरामले उल्लेख गर्नुभएको छ’ उनले भने । नेपाललाई चिनाउने प्रथम विन्दु नै नेपाल हो भन्न सकिने र त्यसपछि सगरमाथा अन्य, अन्य विषय आउने उनले बताए ।

सबै इतिहासकारहरु भन्दा बाबुराम फरक भएको उनले उल्लेख गरे । लिखित इतिहासले अलिखित इतिहासलाई ओझेलमा पारेको हुन्छ । लिखित इतिहास शासकको गुणगान वा तारिफ हुन्छ । अलिखित इतिहास जनताको इतिहास हुन्छ तर बाबुरामले अलिखित इतिहासको उजागर गरेको उनले उल्लेख गरे ।

प्रतिष्ठानबाट इतिहासको अध्ययन, अनुसन्धान र प्रकाशनमा थप सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । लिखित इतिहास भन्दा पनि अलिखित वा मौखिक इतिहासको संकलन र अनुसन्धानमा प्रतिष्ठानले काम गर्न थालेको उनले जानकारी दिए ।

इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले धन्यवाद ज्ञापन गर्दै करिब १२, १३ वर्षदेखि बाबुरामको स्मृति दिवस मनाइरहेको जानकारी दिए । यसमा प्रतिष्ठानको सहकार्य रहँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा बाबुराम आचार्य स्मृति प्रतिष्ठानले भन्दा बढी नेपाल एकेडेमीप्रतिष्ठानले नै यस्ता कार्यक्रम आयोजना गरिदियोस् भन्ने अपेक्षा रहेको बताए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिक शास्त्र विभाग प्रमुख डा कौशिला रिसालले बाबुराम आचार्यले गर्नुभएको योगदानको चर्चा गर्नुभयो । राणाकालिन समयमा निडरताका साथ इतिहास लेखनमा सक्रियता देखाउनु भएकोले इतिहासशिरोमणि भन्न पाएको उनले बताए। पुराना कवि र कविता पुस्तक र सगरमाथाको नामाकरणको मात्रै अध्ययन गर्न पाएकोमा आज उहाँको बारेमा धेरै जानकारी लिन अवसर पनि भएको उनको भनाइ थियो । विद्वान वक्ताहरुले धेरै प्रसंग र विषय उल्लेख गर्नुभएको उनले बताए । प्रकाशन र लेखनमा छुटेका विषयहरु आगामी दिनमा प्रतिष्ठानले पनि प्रकाशन गर्ने प्रतिबद्धता उनले बताए । सामग्री संकलन भएर आए त्यसलाई प्रकाशन गर्न आफू तयार रहेको उनले बताए । इतिहास लेखनमा नयाँ शिराबाट अघि बढ्न प्रतिष्ठान तयार रहेको उनको भनाई छ ।

कार्यक्रम प्रज्ञासभा सदस्य चेतनाथ धमलाले सञ्चालन गर्नुभएको थियो भने पत्रकार डिल्ली रमण सुवेदीले कार्यक्रमको प्रतिवेदन लेख्नुभएको थियो ।