प्रदेश 1

घरपायक सरकारी सेवाले गाउँले खुसी

२५चैत्र, पाँचथर । याङवरक गाउँपालिका र गाउँपालिका–३ कार्यालयले बिहीबार वडाको सामाङ्खुमा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा गाउँपालिकाका सबै सेवा पाउँदा सेवाग्राही दङ्ग देखिन्थे । आफ्नो स्वास्थ्य परीक्षण, सिफारिससहित कागजात निर्माण, बालीनाली र पशुपंक्षीका समस्या समाधान गर्न सेवाग्राहीलाई चटारो थियो ।

निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गले जोडेको स्थान भए पनि यहाँका सेवाग्राही करिब एक घण्टाको दूरीमा रहेको गाउँपालिकाको केन्द्र थर्पु पुगेर सेवा लिन नसकेको घुम्ती शिविरको भीडले देखाउँथ्यो । सामाङ्खुका हङ्शबहादुर सेलिङले एकैसाथ सागसब्जीको बीउविजन, गाई र बाख्रालाई भिटामिन, औषधि र आफ्ना लागि सामान लिए। सडकसँगै घर रहे पनि थर्पु पुगेर सेवा लिन हङ्शबहादुर अझै तयार भएको थिएन । “सबै सेवा यसरी सहज पाइन्छ भन्ने पहिले थाहा थिएन । शिविर आएपछि मात्रै सेवा लिन सके”, सेलिङले भने, “यस्तो शिविर भविष्यमा पनि आयोजना भए हुन्थ्यो ।”

सामाङ्खुकै वीरेन्द्र सेलिङले शिविरकै दिन मात्रै जानकारी पाएका थिए । उनले भने, “शिविरकै दिन मात्रै थाहा पाएकाले धेरै सेवा लिन सकिनँ । पछि पनि यस्ता कार्यक्रम भए हुन्थ्यो ।” वीरेन्द्र पनि यसरी सरकारी सेवा सहजै पाइन्छ भन्ने थाहा नभएको बताउँछन् । घुम्ती शिविरमा आएका अधिकांश सेवाग्राही सरकारी सेवाको उपलब्धताबारे जानकार नहुनुका साथै ती सेवा लिने प्रक्रियाबारे अनविज्ञ रहेको पाइन्थ्यो ।

घरदैलोमा सेवा पाएपछि भने सेवाग्राहीले सोधेर, बुझेर पाएसम्मका सेवा लिएका थिए । एकीकृत घुम्ती शिविरमा उक्त वडाका विभिन्न टोलका एक सय ७० बढी सेवाग्राही आएका थिए ।
उक्त वडाका वडाध्यक्ष विमल राईका अनुसार एकीकृत घुम्ती शिविरबाट सरकारी कागजपत्र, स्वास्थ्य र कृषि लगायतका सेवा दिइएको छ । “धेरै सेवाग्राही अन्यत्र गएर सेवा लिन सक्षम नभएकाले टोल र घरमा गएर सेवा दिने उद्देश्य राखेर शिविर आयोजना गर्न थालेका हौँ”, राईले भने, “सरकार र जनताको सम्बन्ध विस्तार गर्ने र सरकारको उपस्थिति घरघरमा पु¥याउन खोजेका छौँ ।” एकीकृत सेवा प्रवाह गर्दा धेरै सेवाग्राही लाभान्वित भएको उनको भनाइ छ ।

नागरिकको आवश्यकताका सेवा भूगोलका हिसाबले नजिकको सरकारबाट टाढा परेको अवस्थामा शिविरको आयोजना गरी प्रवाह गर्दा प्रभावकारी देखिएको याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङदेनको भनाइ छ । निर्माणाधीन मध्यपहाडी लोकमार्गले याङवरक गाउँपालिकाका छ वटै वडालाई समेटेको छ । तर गाउँपालिकाका वडा नं। १, २ र ३ मा छरिएको वस्ती हुनुका साथै भूगोलका हिसाबले गाउँपालिकाको केन्द्र पुग्न समय लाग्दछ । गाउँपालिकाको केन्द्र थर्पु पुगेर सेवा लिन नसकेको अवस्थामा शिविरमार्फत गाउँपालिका घरसम्म आइपुग्छ भन्ने अनुभूति दिलाउने प्रयास गरिएको गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास) को भनाइ छ । “तीन वडाका जनताले गाउँपालिकाको केन्द्र टाढा परेको अनुभूति गर्नुभएको कुरामा हामी जानकार छौँ । त्यसले सबै सेवा दिएर एक दिन भए पनि गाउँपालिका आफ्नै टोल आँगनमा छ भन्ने अनुभूति दिलाउन खोजेका हौँ”, उनले भने।

गाउँपालिकाले सबै शाखाका कर्मचारी, प्राविधिक तथा स्वास्थ्यकर्मीलाई एकीकृत शिविरमा खटाइ जनतालाई सहज सेवा प्रवाह गर्ने कामको सुरुआत गरेको गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोको भनाइ छ । गाउँपालिकाले आगामी दिनमा यस्तो सेवा भौगोलिक रुपले टाढा रहेका वडा नं। १ च्याङथापु, वडा नं। २ फलैँचा र वडा नं। ३ ओयामका विभिन्न टोलमा सञ्चालन गर्ने मेन्याङबोले जानकारी दिए।