समाचार

दार्चुलामा सडकबाट खसेर एक युवकको मृत्यु

१३ पुस, दार्चुला । दार्चुलामा सडकबाट खसेर एक युवकको मृत्यु भएको छ । अपि हिमाल गाउँपालिका–६ का १८ वर्षीय अशोकसिंह धामीको आज सडकबाट खसेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार सिप्टी–तपोवन सडकखण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको बा ३ क ४१९८ नं को स्काभेटरमा सहयोगीका रुपमा काम गदैँ आएका धामी सोही सडकखण्डको सिप्टीमा सडकबाट खसेका हुन् ।

सडकमा हिँडिरहेका बेला अचानक खस्दा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । उनी सडकबाट पाँच सय मिटर तल खसेका थिए । अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक मानसिँह ऐरीको टोली घटनास्थलमा पुगेको छ ।