समाचार

बालकुमारी घटना : मृतकका परिवारलाई दश लाख क्षतिपूर्ति

१४ पुस, काठमाडौँ । सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा शुक्रबार भएकोे घटनामा परी निधन भएका दुई युवकका परिवारलाई क्षतिपूर्तिस्वरुप जनही रु १० लाख उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् । उक्त घटनामा परी दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको निधन भएको थियो । सरकारले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले बताईन् ।

उक्त घटनामा परी घाइते भएकाको उपचारको प्रबन्ध सरकारले मिलाउने भएको छ । घाइतेको उपचारका लागि अर्थमन्त्रालयले गृह मन्त्रालयलाई आवश्यक बजेट उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । साथै सरकारले शान्तिसुरक्षा कायम गर्न सबैलाई आग्रह गरेको छ ।

उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले शुक्रबार नै समिति गठन गरेको जानकारी दिँदै मन्त्री शर्माले भविष्यमा यस्ता घटना हुन नदिनेतर्फ सरकार सचेत रहेको बताए । फरक एक प्रसङ्गमा मन्त्री शर्माले सङ्घीय निजामती ऐन, सङ्घीय प्रहरी ऐनलगायत सङ्घीयता कार्यान्वयनसँग जोडिएका ऐनलाई शीघ्र जार गर्न प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए । सातै प्रदेशका मुख्यमन्त्रीले आज प्रधानमन्त्रीलाई भेटेर सङ्घीयता कार्यान्वयनका निम्ति आवश्यक कानुन तत्काल जारी गर्न माग गरेएका थिए ।